(१) नदीले एकाएक धार बदलेको वा कुनै दैवी परेको कारणले यातायात वा सञ्चारको साधनलाई यथावत्चालु राख्न वा धनजनको व्यापक क्षतिबाट बचावट गर्न वा अन्य कुनै सार्वजनिक सम्पत्तिको संरक्षणको निमित्त वा अन्य कुनै असाधारण अवस्था परी नेपाल सरकारले कुनै जग्गा तत्कालै प्राप्त गर्नु परेमा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सो सम्बन्धमा नेपाल सरकारले निर्णय गरी त्यस्तो जग्गा प्राप्त गर्नेतर्फ कारबाई चलाउन स्थानीय अधिकारीलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कामको निमित्त प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा दफा ९ को उपदफा (१) मा उल्लिखित कुराहरूमध्ये उपलब्ध भएसम्मका कुराहरू खुलाई सरोकारवाला ब्यक्तिहरूको जानकारीको लागि सूचना जारी गर्नेछ र त्यस्तो सूचना जारी गर्दा सरोकारवाला व्यक्तिहरूले शीघ्रतिशीघ्र जानकारी पाउन सक्ने भनि स्थानीय अधिकारीले उपयुक्त ठहराएको तरीकाबाट जारी गर्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना टाँस भएपछि जुनसुकै बखत स्थानीय अधिकारीले जग्गा कब्जामा लिन सक्नेछ र त्यसरी कब्जामा लिएकै मितिदेखि त्यस्तो जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुन जानेछ ।
(४) यस दफाबमोजिम जग्गा प्राप्त गर्दा त्यस्तो जग्गामा लागेको वाली तथा रुख र त्यसमा बनेको घर, पर्खाल आदि समेत प्राप्त गरिने भएमा त्यस बापत सरोकारवाला व्यक्तिले
क्षतिपूर्ति पाउनेछ ।
(५) यस दफाबमोजिम प्राप्त गरिने जग्गाको मुआब्जाको निर्धारण दफा १३ बमोजिमको मुआब्जा निर्धारण समितिले गर्नेछ
(६) यस दफाबमोजिम प्राप्त गरिएको जग्गाको मुआब्जा वा क्षतिपूर्तिको रकममा चित्त नबुझेकोमा बाहेक जग्गा प्राप्त गरिनु नपर्ने भन्ने विषयमा उजुर लाग्ने छैन ।
(७) क्षतिपूर्ति वा मुआब्जामा चित्त नबुझ्ने व्यक्तिले क्षतिपूर्ति वा मुआब्जा निर्धारण भएको सूचना जारी भएको मितिले पन्ध्र दिनभित्र नेपाल सरकार, गृह मन्त्रालय समक्ष उजुर गर्न सक्नेछ र त्यस्तोमा नेपाल सरकार, गृह मन्त्रालयकोनिर्णय अन्तिम हुनेछ ।
(८) यस दफा बमोजिम प्राप्त गरिएको जग्गाको मोलतोलको लगत कट्टा गर्ने सम्बन्धमा दफा २३ को कार्यविधि अपनाई स्थानीय अधिकारीले कारबाही चलाउनेछ र त्यस्तो जग्गाको सम्बन्धमा दफा २४ को कुरा पनि लागू हुनेछ ।